Sunday, July 16, 2006

प्राध्यापकद्वारा रजिस्ट्रारको कार्यालय घेराउ

स्रोत:कान्तिपुर दैनिक
http://www.kantipuronline.com/kolnepalinews.php?nid=79623


कास
काभ्रे, असार ३० - करार अवधि सकिएको भन्दै काठमाडौं विश्वविद्यालयले करिब बाह्र प्राध्यापकलाई शुक्रबार निष्कासन गर्न खोजेको छ । करार अवधि सकिएको र सेवाप्रति धन्यवाद दिइएको पत्र पाएपछि प्राध्यापकहरूले दुई घन्टासम्म रजिस्ट्रारको कार्यालय घेराउ गरेका छन् ।

रजिस्ट्रार डा. सीताराम अधिकारीले प्राध्यापकहरूलाई निकाल्ने मनसाय नभएको र सबै पुनर्बहाली हुने आश्वासनदिएपछि मात्र प्राध्यपकहरूले कार्यालय बाहिर निस्किन दिएका थिए । प्राध्यपकहरूलाई दिइएको पत्रको दर्ता चलानी च्यातेपछि रजिस्ट्रारलाई छाडेको काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका महासचिव डा. समीरमणि दीक्षितले बताए । दिउँसो सवा चार बजेदेखि प्राध्यापकहरूले रजिस्ट्रारको कार्यालय घेराउ गरेका थिए ।

प्राध्यापकलाई दिइएको पत्रमा सेवा गर्न इच्छुक भए सम्बन्धित विभागीय प्रमुखलाई सम्पर्क गर्न पनि उल्लेख गरिएको छ । तर प्राध्यापकहरूलाई निष्कासन गर्ने नभई सेवा गर्ने मनसाय बुझ्न त्यस्तो पत्र दिइएको रजिस्ट्रार डा. सीताराम अधिकारीले प्राध्यापकलाई बताएका छन् । प्राध्यापकहरू गत वैशाखदेखि पेसागत हित र विश्वविद्यालयमा अनियमितता रोक्न माग गर्दै आन्दोलनरत थिए । प्राध्यापकहरूले भने आन्दोलन दबाउन निष्कासनको प्रयास गरेको आरोप लगाएका छन् । अस्थायीलाई स्थायी गर्नुपर्ने, निष्कासन गरिएकालाई पुनर्वहाली गर्नुपर्ने, प्राध्यापक
संघलाई मान्यता दिनुपर्ने लगायतका आठ सूत्रीय माग राख्दै प्राध्यापकहरू आन्दोलित थिए ।

माग पत्र प्रतिनिधिसभा र प्रधानमन्त्री कार्यालयमा समेत प्राध्यापकहरूले पुर्याएका थिए । तीन सातादेखि विश्वविद्यालयका प्राध्यापकले प्रत्येक दिन धर्ना दिँदै आएका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघका
महासचिव डा. दीक्षितले बताएका छन् ।

Posted on: 2006-07-14 21:27:16

No comments: