Thursday, February 01, 2007

मनपरि काठमाडौं विश्वविद्यालयका उपकुलपतिको

काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्माको प्रशासनले निरंकुश चरीत्र देखाउँदै त्यहा मनपरि गरेको समाचार प्राप्त भएको छ । विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई पेशागत संघ-संगठन खोल्न प्रतिबन्ध लगाइ उपकुलपति शर्माले आफ्नो निरंकुश चरीत्र देखाउँदै आएका छन् । उपकुलपतिको उक्त रवैयाका कारण विगत पाँच महिनादेखि स्थापनाको प्रयास गरिएको कर्मचारी संघले अझै मूर्तता पाउन सकेको छैन । तथापि पेशागत हक-हितका लागि कर्मचारीले काठमाडौं विश्वविद्यालय कर्मचारी संघको प्रारम्भ गरेका छन् । संघको स्थापना गरी कर्मचारीहरुलाई एकीकृत गर्ने अभियानमा लागेको आरोप लगाउँदै कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसी र सचिव तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन काठमाडौं विश्वविद्यालय संगठन समितिका संयोजक अमित बर्मालाई उपकुलपति प्रशासनले जागिरबाट निष्कासन गरेको छ । साथै अन्य कर्मचारीहरुलाई पनि संघमा लागे यस्तै अवस्था हुने भनी धम्याएको कुरा नाम उल्लेख नगर्ने शर्तमा त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन् । निरंकुश उपकुलपति प्रशासनका एक सहयोगी डीनले यस्तै धम्की दिएका कारण त्यहाँ कार्यरत एक कर्मचारी बुद्धिबहादुर बिकले पौष १२ गते आत्महत्या समेत गरेको समाचारमा उल्लेख छ । मृतक कर्मचारीकी श्रीमतीले डीनलगायत निरंकुश प्रशासनलाई कारबाहीको माग गर्दै हारगुहार गरिरहेकी छन् ।

समाचारमा उल्लेख भएअनुसार अहिले काठमाडौं विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुले अवकाशप्राप्त कर्मचारीद्वय सुरेन्द्र केसी र अमित बर्माको पुनर्बहाली हुनुपर्ने क्याम्पसमा प्रहरी हस्तक्षेप बन्द गराउनुपर्ने स्थानीय गुण्डाहरुलाई क्याम्पस प्रशासनले परिचालन नगर्नुपर्ने, मृतक बुद्धिबहादुर बिकको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने आत्महत्याबारे छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पेशागत संघ-संघठन खोल्न पाउनुपर्ने लगायतका माग राखी क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । कर्मचारीहरुले गरेको तालाबन्दीलाई क्याम्पस प्रशासनले स्थानीय गुण्डाहरु प्रयोग गरी फुटाएकोमा शिक्षक कर्मचारी र नागरिक समाजसमेत आक्रोशित बनेका छन् । अझै उल्लेख्य त यो छ कि निज उपकुलपति सुरेशराज शर्मा काठमाडौं विश्वविद्यालयको स्थापनादेखि अहिलेसम्म निरन्तर १५ वर्षसम्म राजनीतिक चरीत्र बदल्दै उक्त पदमा थमौति भैरहेका छन् । निजले एकातिर कर्मचारी शिक्षकहरुलाई संघ-संगठन खोले जागिर खाने धम्की दिन्छन् भने अर्कोतिर विश्वविद्यालयलाई आफ्नै बपौती ठानी नातागोता भर्ती गरिरहेका छन् । यहाँसम्म कि उनी भीसी छन् भने उनका भाइ मुकुन्दप्रसाद शर्मा प्रमुख कार्यकारी अधिकृत र आफ्नी छोरी विश्वविद्यालयमा कहीं नभएको पद सृजना गरी मेनेजरमा नियुक्ति भएकी छन् । त्यसैगरी उपकुलपतिका साढुभाइदेखि अन्य नाता पर्नेहरु केयुमा कार्यरत छन् । अहिले केयु नातावाद, कृपावाद र निरंकुशताको अखडा बन्दै आएको छ । उपकुलपतिले केयुको ३४ औं सभामा २९ जना सभाषद मध्ये १६ जनाको मात्र बैठक बसाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले केयुमा संगठन गर्नेलाई कारबाही गर्नु भनी आदेश दिएको भन्दै शिक्षक कर्मचारीहरुलाई धम्क्याउन माइन्युटमा उल्लेख गरी प्रधामन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत निरंकुश बनाउन प्रयत्न गरिरहेका छन् । राजनीतिक पार्टीका वरिष्ठ नेताहरुको चाकरी गर्न माहिर मानिने उपकुलपतिको प्रत्यक्ष निर्देशनमा केही दिनअगाडि स्थानीय गुण्डाहरुले कर्मचारी दण्डपाणि न्यौपानेमाथि आक्रमण गरेका थिए । यसरी केयुमा आफ्ना कमी-कमजोरीलाई सच्याउनुको सट्टा आफ्ना विरोधी सबैको जागिर खाइदिने धम्की दिँदै अभियान नै चलाएका उपकुलपति शर्मा प्रशासनको विरुद्ध जाइलाग्न त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी एकीकृत भएका छन् । यसैबीच नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय संगठन समितिका अध्यक्ष रुक्म लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै केयुका कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसी र सचिव तथा आफ्नो संगठनका संयोजक अमित बर्मालाई प्रशासनले पुनर्बहाली गरी निरंकुश चरीत्र त्याग्दै वार्तामा बसी शीघ्र समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।


स्रोत: जनआस्था साप्ताहिक

No comments: