Friday, December 12, 2008

सीताराम मनोवाद: हामीले हामीलाई नै माया नगरे?

केयु बन्छ, खुल्छ अनि हाम्रा छोरा-छोरी सब प्राध्यापक बन्छन। हाम्रा घरमा बियरको खोलो बग्छ र हामी तन्काउन थाल्छौँ। के यति सामान्य कुरालाई पनि आलोचना गर्न मिल्छ? नेपालीहरुका आँखा अहिले किन केयुमा? नातावादको कुरा हामी भन्दा पहिले पनि थियो, अहिले पनि छ र भोली पनि रहन्छ। नातावाद गिरिजाको थियो र अहिले प्रचन्डको पनि छ। भोली जोसुकै आउन, नातावाद तिनका पनि हुन सक्छन। अनि नातावाद लादन, के आफ्नै वीर्यद्वारा उत्पादित सन्तानमात्र चाहिन्छ र? जनदिशाले स्पष्ट लेखि सक्यो नी पारिवारिक नाताबाट भोला पनि मेरै छोरा हो भनेर। कुरो सिधा छ बुझ्नेलाई, तर नबुझ्ने बनाउन अलिक बँग्याउनै पर्छ। बृजेश पनि हाँस्दै भन्दै थियो, "लौ, हेर्नुस ड्याड, यस्तै फटाहा कुरा लेखेरै हो हामीले जितेको।" शुरुमा बृजेश हाँस्दा अलिक चिसो पसेको थियो। तर, त्यो लाटो बुद्धिले चाँही त्यो कुरा झुटो नै हो भनेर सोचेको देख्दा भने ढुक्क भएँ। ठीकै छ, एउटालाई अँश घरमा दिउँला, अर्कोलाई कार्यालयमा। तर, यी मोरा पत्रकारहरु भने मापाका हुन्छन। आचारसँहिताबाट वच्न पारिवारिक नाताबाट छोरा भनेर पो लेख्छन मोराहरु। के यो युगमा पनि मान्छे जिशस क्राईष्ट वा सीताजसरी जन्मन्छ र? 

"नातावाद मुर्दाबाद, नातावाद मुर्दाबाद........."

झट्ट सँझदा मलाई दुई वर्ष अगाडीको यो नाराले कहिले काँही निद्रामा पनि सताउँछ। अस्ती राती तीनबजे तिर एक्कासी असिन-पसिन भएर ब्युझिएँ। सपनामा केयुमा आन्दोलन चर्केको र मलाई र सुरेश सरलाई चारपाटे मोडेर धुलिखेल बजार घुमाएको देखेको थिएँ। भद्रमानजीलाई भने बोरामा खाँदेर गोदनु गोदेछन। अनि, उता पुष्पजीलाई भने "म अन्तर्घाती जँड्याहा हुँ" लेखेको पोष्टर छातिमा टाँसेर घुमाएका रहेछन। भोला, वृजेश र मनिषलाई भने विध्यार्थिहरुले वाहियात शिक्षकहरु भन्दै मुर्गा बनाएका रहेछन। कालदाँते कुमार मोरोको अनुहारभरि मोबिल पोतेका रहेछन। नभेन्द्रको भने जुँगा एकातिरबाट मात्र उखेलेर दामोदरसँगै चलानी शाखामा थुनेका रहेछन। आफ्ना मान्छे अगाडी कोही देखा परेनन। बेलप्रसादजी र रामकन्ठजी पनि भीडसँग डराएर भागेका पो रहेछन। त्यो रात फेरी निदाउनै सकिन। यस्तो नराम्रो सपना देखेको, आज केही वित्याँस हुन्छ जस्तो लागेको थियो। नभन्दै चर्पीमा पुगेपछि पो थाहा भो। फ्लश चलाउन खोज्छु, पानी त गायब पो। धुलिखेलेहरुले बिहानै पाईपलाईनै फोडेछन। धन्न कोठामा मिनरल वाटर थियो, त्यसैले शौचको काम सिध्याएँ। भ्रष्टाचार र नातावादको ठुलो फाईदा मैले त्यसदिन पाएँ। नेपालीहरुलाई के थाहा, भ्रष्टाचार गरेपछि शौचकृया पनि मिनरल वाटरले हुन्छ भन्ने?

मलाई नाताविरोधी लेख, भाषण र गफ सुन्दा सार्है नरमाईलो लाग्छ। नेपालको प्रशासनिक सँस्कारमा म अलि बढी नै सँवेदनशील छु, त्यसैले प्रशासकहरुले जे गरेपनि हुन्छ भन्ने मेरो ठम्याई छ। नेपालको प्रशासनमा जहाँ हेरे पनि नातावादनै छ। यति धेरै नातावादका उदाहरण हुँदाहुँदै पनि नातावादकै विरोध गर्नु के मान्छेहरुको वाध्यता हो? अर्को कुरा कस्तो नातावाद हो र किन नातावाद आयो भन्ने कुरै नबुझी नातावादको विरोध गर्नु मैले हेलचेक्र्याँई बाहेक अरु केही मान्न सकिन। काठमाडौँ विश्वविध्यालयकै अधिकृत, वकिल, डिन, प्रोफेसरहरुलाई सोध्दा भने आफ्नो जागीर जाला भन्ने डरले मलाई समर्थन गर्याजस्तै गरेर झारामात्र टारे। उहाँहरुको जवाफमा अनुग्रहितताको सानो अवशेषसम्म पनि थिएन। मलाई यस्तो लाग्यो कि, यिनिहरुलाई फेरी पदोन्नतीका बेलामा झुलाउनु पर्छ। उहाँहरुमा रहेको समर्थनको कमी देख्दा एकछिन त मलाई कतै म चाहिने भन्दा बढी ईमोशनल भएको हैन त भन्ने जस्तो पनि लाग्यो। 

अब एकछिन, त्यो भन्दा केही दिन अघिको अर्को कुरा गरौँ। हामीले मेडीकलमा छोरालाई भर्ना मिलाईदिएका एकजना समाजसेवीले सुरेश सरलाई दोसल्ला अोढाउने कार्यक्रम थियो। पुष्पजीको सँगतमा बियरजन्य मादकपदार्थको कुलतको शिकार भएको कारणले म कार्यक्रम शुरु भएको निक्कै बेर पछि त्यहाँ पुगे। म हलभित्र छिरेपछि अचानक लाउडस्पीकरमा सुरेश सर कडकिएको सुनेँ। अोढाईएको दोसल्ला अलि गर्हुँगो भएका कारण त्यो बोक्न उहाँले मलाई बोलाउनु भयो। उहाँ मसँग कडकिएको देखेर उपस्थित सबैजना अचम्म मान्दै हेर्न थाले। पछि स्टेजमा पुगेपछि सुरेश सरले, "उहाँ मेरो आजीवन रजिष्ट्रार सिताराम।" भन्दै मेरो परिचय दिनुभयो। नातावादमा सुरेश सर र मेरो गठजोड बुझेकै कारणले होला, एकछिन अगाडी अचम्म मान्दै बसेकाहरु पछि शान्त भए। फेरी, सुरेश सर स्वयमले मुखै फोरेर भनेपछि त मान्छेहरुले बुझ्ने त भई हाले नी। आयोजकजीले आफुबसेको कुर्सीमा मलाई राख्नु भयो र पुन: एकपटक छोराको भर्नाको लागी धन्यवाद दिनु भो। 

नेपालको हरेक ठाउँमा नातावादले अन्य कुरालाई अोझेलमा पारेको छ। आमसँचारका माध्यमहरु भ्रष्टाचारका त कुरा गर्छन तर नातावादको कुरा गर्दैन। किनभने, त्यहाँ पनि नातावादनै छ नी। देख्नु भएन, कसरी हाम्रा सुरेश सरका अभिन्न मित्र हेमराज ज्ञवालीजीले प्रिय विनोदलाई हाकिम बनाउन कैलाशजीसँग अँशबन्डा गरेको? 

नातावाद विरोधीहरुसँग मेरो कुनै खानदानी शत्रुता छैन। हाकिम हुनु अगाडी म आफै नातावादको विरोध गर्ने गर्थेँ। शाही औषधी लिमिटेडमै पनि मेरो कमजोरी कुनै वरिष्ठ हाकिमले देखाउँदा, म तिनीहरुलाई नातावादीहरु भन्दै गाली गर्थेँ। महेन्द्रले विरेन्द्रलाई युवराज घोषणा गर्दा खेरी त मैले यो नातावाद भयो भन्दै विरोध गरेको थिएँ। एक नँबरको नातावाद विरोधी थिएँ। तर, के गर्नु आफै हाकिम भएपछि भने केही कुरा सोच्नु पर्ने पो रहेछ। हामीले पाएका जस्तै दु:ख, र हामीले खानु परेको जस्तै हन्डर, मेरा आँखाका नानीहरुले नखाउन भनेर सोच्नु पर्ने रहेछ। मेरा शरद र वृजेशले धेरैका दलाली गर्न नपरुन भन्ने सोचेरै हो मैले नातावादलाई केयुमा प्रश्रय दिएको। अहिले हेर्नुस त कस्तो भईसक्यो? अहिले त हामी नातावादीहरुकै ठूलो जमात पो बनिसकेको रहेछ केयुमा। भद्रमानजी पनि अस्ती साउती गर्दै थिए र भन्दै थिए, यी विरोधीहरुले जतिसुकै कुरा काटुन-काटोस, तर हामीले हामीलाई नै माया नगरे, कसलाई गर्ने? 

No comments: