Saturday, December 27, 2008

पिटाई कुन बेला खाईन्छ?

प्राणी जगतमै सबभन्दा चेतनशील हो मानव। तर, कुटपिट-हमला-आक्रमणमा भने सबै भन्दा अगाडी मानव नै छ। कहिले कुरा मिलाई-मिलाई आक्रमण गर्छ, कहिले कुरा नमिल्दा अाक्रमण गर्छ। कहिले दु:खको पीडाले हृँशक हुन्छ भने कहिले उन्मादमा हृँशक। यस्तै, कहिले पत्रकार हुँ भन्दा पिटाई खाईन्छ भने कहिले काविको कर्मचारी हुँ भन्दा पिटाई खाईन्छ। पत्रकार हुँदा खाईएको कुरा र प्राध्यापक हुँदा खाईएको कुरामा केही फरक छैन। पिटाई खाने दुबैलाई दुखेको छ, चोट पुगेको छ र आत्मसम्मानमा धक्का लागेको छ। तर, चर्चा पत्रकारले पिटाई खाँदा धेरै भएको छ। यस्तो लाग्छ कि मास्टरहरु भनेका त पिटाई खान जन्मेका हुन, विश्वविध्यालय कर्मचारी बन्न पिटाई नखाई हुँदैन। त्यो पनि अरुबाट हैन, उपकूलपति स्वयमले उचालेका र परिचालित गरेका गुन्डाहरुबाट। 

काठमाडौँ विश्वविध्यालयका सँस्थापक प्रा.डा. सुरेन्द्र राज काफ्ले, कुनै दिक्षित र तिवारी भन्दा निक्कै सम्माननिय ब्यक्ति हुन। शिक्षाको ज्योती प्रज्वलित गर्ने अभिभारालाई वहन गर्दै जीवन ब्यतित गरेका गुरुहरु निसन्देह पुजनीय छन। लक्ष्मीको स्थानमा सरस्वती र द्रव्यको स्थानमा अमूर्त सम्मानको खोजीमा लागेकाहरु सम्मानका हकदार हुन। तसर्थ, विध्यार्थि, सहकर्मी सबैले सम्मान गर्छन यस्ता व्यक्तित्वहरुलाई। तर, सहकर्मीहरुमै कोही यस्ता पनि हुँदा रहेछन, जो आफ्नो कुर्सीको सुरक्षाका लागी हमला गराउँछन र त्यो पनि अख्तियार धाईरहेका अभियुक्तका मार्फत। वास्तवमा काठमाडौँ विश्वविध्यालयमा आफ्नो कुर्सीको सुरक्षार्थ हमलाको सुरुआत गराउने व्यक्ति सुरेश राज शर्मा वाहेक अरु कोही होईनन। कृषि विकास बैँकका पूर्व अधिकृत तथा उक्त सँस्थामा कार्यरत रहँदा भ्रष्टाचारको आरोप लागेका जलन कुमार शर्माले हतपत काठमाडौँ विश्वविध्यालयमा प्रवेश पाउने वाला थिएन। सुरेश राज शर्माका आफ्नै अनुज नभएका भए यिनी एक्लै काठमाडौँ देखि धुलिखेलसम्म गएर कुनै वरिष्ठ-सँस्थापक प्राध्यापकमाथि हमला गर्ने हिम्मत गर्नेवाला थिएनन। सुरेश राज शर्माबाटै अभयदान पाएका कारण यिनले निर्धक्क भएर विश्वविध्यालय हातामै हमला गरेका हुन। तर, यो कुरा अहिले ईतिहाँस बिलिन भइसकेको छ। प्रा. डा. काफ्ले पनि कुनै सम्पादक वा कार्यकारी अधिकृत भएका भए शायद कुरा अर्कै हुन्थ्यो की? यो अहिलेको घटनाक्रमले सिर्जना गरेको प्रश्न हो। 

काठमाडौँ विश्वविध्यालय प्रशासन शाखामा कार्यरत दन्डपाणिजी एक कर्तव्यनिष्ठ कर्मचारी हुन। आफ्नो मेहनत र लगनशीलताले विश्वविध्यालयको प्रगतीका लागि गरेका उनका योगदान आफ्नै ठाँउमा छ। कर्तव्य पालनाको सिलसिलामा उनले न कसैसँग झगडा गरेका छन न कसैलाई मुख छोडेका छन। घरबाट कार्यालय र कार्यालयबाट घर उनको नियमित प्रकृया हो। तर, हठात धुलिखेलका पूर्व मन्डले मेयर मनसुमन श्रेष्ठका अगुवाईमा आएका साँघातिक जत्थाको आक्रमणमा उनी पर्छन त्यो पनि मास्टर जस्तो देखिएर। काठमाडौँ विश्वविध्यालयमा आन्दोलनको नेतृत्व प्राध्यापकहरुले गरेका छन तर पिटाई खानेमा प्राध्यापक जस्तै देखिएका हुनाले दन्डपाणिजी पर्नु भएको छ। प्रतिकृया के त? न प्रहरीमा उजुरी न कुनै आमरण अनसन। सक्दो गरे काठमाडौँ विश्वविध्यालयका कर्मचारीहरुले कुसा (Kathmandu University Staff Association) बनाएर। गुन्डा परिचालनबाट एउटा समूहको साँगठानिक अधिकारलाई रोक्न खोज्दा सुरेश राजले अर्को जमात जुर्मुराएको देख्नु पर्यो। 

काठमाडौँ विश्वविध्यालय मेकानिकल ईन्जिनियरिँग विभागका वरिष्ठ टेक्निशियन बुद्धि बहादुर विश्वकर्मा विश्वविध्यालय भरिकै शिक्षक-कर्मचारीहरुमा अत्यन्त विनम्र व्यक्तिमा दरिन्थे। धुलिखेल क्याम्पसबाट दिक्षित अधिकाँस विध्यार्थिहरुले बुद्धि बहादुर विश्वकर्मासँग बोलेका छन, कुरा गरेका छन र केही सिकेका छन। एक दशक भन्दा बढी समय उनले विश्वविध्यालयलाई प्रदान गरे। आफ्नो सीप र ज्ञानलाई काठमाडौँ विश्वविध्यालयबाट दिक्षित विध्यार्थिहरुलाई तिखार्नका लागी उपयोग गरे। तर, जब उनी प्रशासकहरुका दमनकारी व्यवहारले वाक्क-दिक्क हुँदै आफ्नो हक-अधिकारको सूचना दिन्छन, तब उनीमाथि अठारौँ शताब्दीको मानसिकताले हमला गर्छ। आत्मसम्मानमा ठूलो चोट, पढेलेखेका प्रशासकहरुका साम्प्रदायिक-जातिवादी सोचले उनमा ठूलो आत्मग्लानी पैदा गरिदिन्छ र अन्तमा हामीसबैलाई किँकर्तव्यविमुढ बनाईदिन्छन। बुद्धि वहादुर दिक्षित वा बुद्धि बहादुर तिवारी भएका भए यस्तो घटना कुनै हालतमा हुनेवाला थिएन। किनभने, यिनले त्यसवेला अठारौँ शताब्दीका मानसिकतालाई सिडीमा टिप्थे र रेकर्डरमा भर्थे र दुनियाँ भर प्रचार गर्दै सहानुभूति बटुल्थे। तर, दिक्षित र तिवारीका ठाउँमा उनी बुद्धि बहादुर विश्वकर्मा पर्न गए फलस्वरुप उनको देहअवसान पश्चात उनकी श्रींमतिले किटानीका साथ दिएको बयानले पनि न कुनै पत्रिकामा स्थान पायो न कुनै अठारौँ शताब्दी माथि कार्यवाही भयो। 

हिमाल मिडियामा भएको घटनाक्रमले नेपाली समाजको स्तर निर्धारण गरेको छ। यसले देखाउँछ नेपालमा कुनै तिवारीको मुखमा मुक्का बर्सनु र कुनै दिक्षितको टाउकोमा किक पर्नु भनेको सारा जीवन शिक्षाक्षेत्रमा बिताउने व्यक्तित्वले सहनु परेको आक्रमण भन्दा निक्कै सँवेदनशिल हो। यो स्तरले कावि कर्मचारी भएकै कारणले पिटाई खानु परेको कुरालाई भन्दा पत्रकार भएकै कारण पिटाई खानु परेको कुरालाई अहिले चर्चामा ल्याएको छ। म गम्दैछु, भोली कुनै जमरकट्टेलले धम्काएको आधारमा कुनै दिक्षित वा तिवारीले आत्महत्या गर्ने हो भने यो सामाजिक स्तरले कस्तो परिणति दिने हो? सरकार परिवर्तन, जनआन्दोलन -३ वा गृहयुद्ध?

पिटाई, आक्रमण, हमला, र हिँसालाई २१औँ शताब्दीमा कुनै स्थान छैन। तर नेपालमा भने केही महानुभावहरु यसलाई हतियार बनाउँदै आफ्नो पकड बलियो बनाईरहेका छन। राजनैतिक वृतमा हेर्ने हो भने कोही चोखा छैनन-कोईराला, नेपाल, दाहाल हुँदै उपेन्द्र यादव समेत हिसँालाई साधन बनाउनेहरुमा पर्छन। त्यसैले म कुनै उदेक मान्दिन कुनै राजनैतिक दलका कार्यकर्ताले कसैलाई हमला गर्दाखेरी। तर, मलाई दिक्क लाग्छ जब म देख्छु प्राज्ञिक क्षेत्रको साधु हुँ भन्नेहरु नै शैतान बनेको देख्दा। नेपालका पत्रकार र सम्पादकहरुले एउटा कुरा स्पष्ट बुझ्नु पर्छ। राजनिती समाजको प्रतिबिम्ब हो र समाजलाई सही मार्गमा लाने केन्द्र विध्यालय हो। यदि सक्छौ भने आक्रमणकारी उपकुलपतिहरु विरुद्ध लेख र समाजलाई केन्द्रबिन्दु देखि नै सुधार। त्यस अवस्थामा मात्र राजनितीमा असल पात्रहरु आउनेछन र कुनै व्यक्तिले पत्रकार भएकै नाताले पिटाई खानु पर्ने बेला आउँदैन। 

2 comments:

Anonymous said...

wow..wonderful writing. has to be posted on daily news papers like Himalaya times or Kathmandu Post. really good comparison.

Anonymous said...

wow..wonderful comparison. This time of writing must be published in some daily news papers too.