Wednesday, January 07, 2009

ऊर्जा सङ्कटको उपयुक्त विकल्प : नवीकरणीय ऊर्जा


सुनिल लोहनी

अदूरदर्शिता र भ्रष्टाचारले गर्दा उत्पन्न विद्युत् समस्याको समाधान खोज्न फेरि गलत बाटो नअपनाइयोस्।

आइन्स्टाइनले आफ्नो जीवनको पछिल्ला वर्षतिर भनेथे "समस्याको जन्मको कारण बन्ने पद्धतिले समाधान दिन सक्दैन"। अहिले हाम्रो देश र समग्र विश्वका ऊर्जासम्बन्धी नीतिनियम, र पद्धतिले आइन्स्टाइनको यही कथनको पुष्टि भइरहेको छ। आजको विश्वमा ऊर्जा सङ्कट र परम्परागत ऊर्जाले निम्त्याएको जलवायु परिवर्तन मानव सभ्यता र यस्को अस्तित्त्वसँग गासिएको महत्त्वपूर्ण सबाल हो। यसको राजनीतिक तहबाट रणनीतिक, आर्थिक र नीतिगत पक्षमा उचित सम्बोधन नभए विश्वको अस्तित्त्व नै समाप्तिउन्मुख हुनेछ। 

यस विषयमा विश्वको आधिकारिक निकाय मानिने जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह इन्टरगभर्मेन्टल प्यानेल फर क्लाइमेट चेन्ज (IPCC) ले वातावरण एवम् ऊर्जा वैज्ञानिकका अनुसन्धान निस्कर्षका आधारमा १९९० को समग्र विश्वको हरितगृह ग्यास उत्सर्जनलाई २०५० सम्ममा  ६०% ले कटौती गर्नैपर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ। तर कार्यान्वयनमा भने २००८ देखी २०१२ सम्ममाका लागि क्योटो प्रोटोकोलमात्र छ। यसले २०१२ सम्ममा १९९० को आधारमा मात्र ६% को हाराहारीमा मात्र हरितगृह ग्यास कटौती गर्ने सम्झौता गरेको छ। यसैमा पनि अमेरिका, चीन, भारत, अष्ट्रेलियाजस्ता विश्वको ५०% भन्दा बढी  हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरू विभिन्न बहानामा सहभागी भएका छैनन्। हालसाल पोल्यान्डमा सम्पन कन्फरेन्स अफ पार्टिजको १४ औं महासभामा पनि कुनै उत्साहजनक सहमति भएन।  अब २००९ को अन्त्यतिर डेनमार्कको कोपनहेगनमा हुने महासभासम्म पर्खनु पर्नेछ। 

सकारात्मक सहमतिको आशा गर्नुको विकल्प छैन। इयु- २७ ले घोषणा गरेको २०२० सम्ममा २०/२०/२० योजना अर्थात कार्बन उत्सर्जनमा २०% कटौती, सम्पूर्ण ऊर्जा खपतमा २०% नवीकरणीय ऊर्जाको प्रयोग, र ऊर्जा खपतमा २०% कटौती सरहानीय कदम हुँदाहुँदै पनि माथि उल्लेखित अमेरिका, चीनजस्ता धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्र सहमत नभए १५%को हाराहारी कार्बन उत्सर्जन गर्ने इयु २७ मात्रको प्रयासले मानव अस्तित्व खतरामक्त हुनेछैन। अहिलेकै अवस्थामा भने ६०% मात्र कटौती हुनेछ र विश्वको तापमानमा ४ डिग्री सेन्टिग्रेड जति वृद्धि हुनेछ र कैयौं देश र सहरको अस्तित्व समाप्त हुनेछ।

आउने दिनमा ऊर्जा सङ्कट मात्र नभएर वातावरणी रअभावजन्य सङ्कट ( उदाहरणका लागि फोसिल र न्युक्लियर ऊर्जाको स्रोत सकिँदै जानु, माग निरन्तर बढ्ने र आपूर्ति घट्दै जाँदा) विश्वले आजसम्म नभोगेको हिंसा र अराजकताको लागि तयार हुनुपर्ने हुन्छ। कारण ऊर्जाबिना केही पनि सम्भव छैन। अरब खाडीमा, ईराकमा तेलको सट्टा नास्पाती या सुन्तला भएको भए त्यहाँ ती युद्ध हुने थिएनन‍्।), परम्परागत र आणविक ऊर्जा उत्पादनमा हुने अत्यधिक पानीको खपतले अहिलेनै अपर्याप्त पानीको सङ्कट थपिने छ।  यस्तै जनस्वास्थमा पर्ने प्रतिकूल प्रभाव, पेट्रो-केमिकल स्रोतबाट बन्ने रासायनिक मलको अभाव भएर खेतिपातीमा हुने सङ्कटसमेतका कारणले गरर्जा सङ्कटलाई बहुआयमिक रूपमा हेर्नुपर्ने बाध्यता हुनेछ। 

अहिले कथित ऊर्जा विशेषज्ञहरू आर्थिक र प्राविधिक पक्षलाई देखाएर नवीकरणीय ऊर्जाको पूर्ण कार्यन्वयनमा जान हिच्किचाइरहेको देखिन्छ। प्राविधिक पक्षको समाधान भये पनि आर्थिक पक्ष झिकी नवीकरणीय ऊर्जाको विकास र विस्तारमा अल्झो हाल्ने गरेको देखिन्छ।  परम्परागत ऊर्जाविद्हरू समाधान नभएर समस्याको अंशका रूपमा छन्। अब हामीसँग धेरै समय छैन।‌

नवीकरणीय ऊर्जा र परम्परागत ऊर्जामा रहेको प्रमुख भिन्नता हो - प्रदूषणरहित र प्रदूषणयुक्त ऊर्जा। सीमित स्रोत र असीमित स्रोत, थोरै स्थानमा केन्द्रित र जताततै उपलब्ध हुने स्रोत। विश्व बजारमा फोसिल ऊर्जाको करीब ६०% वार्षिक आपूर्ति जम्मा ४० वटा स्रोतबाट हुन्छ र ती सबै मध्यपूर्व एसिया र अफ्रिकामा छन्। यही केन्द्रित स्रोतकै कारण अतिरिक्त राजनीतिक, आर्थिक र सुरक्षाका प्रश्नहरू विश्व राजनीतिमा तेर्सिएका छन्। केही प्रतिनिधि उदाहरण हेर्ने हो भने क्यासपिअन खाडीको पाइप लाइनमा मात्र १० हजार सशस्त्र सुरक्षाकर्मीले दिनरात पहरा गरिरहेका हुन्छन्। तर तेस्को मूल्य ऊर्जामा जोडिएको हुन्न। यस्तै धेरै पक्षका आधारमा अब ऊर्जा बजारमा प्रचलित मान्यता बदल्नुपर्ने समय आएको छ। सौर्य, हावा, पानी, बायोमास, जिओथर्मल नवीकरणीय ऊर्जा जस्ता सुर्यजन्य स्रोतमा सुर्य रहेसम्म आपूर्तिमा कुनै समस्या हुँदैन। र खगोल विज्ञानअनुसार सुर्यको आयु ५-७ अर्ब रहेको छ। तेसैले पनि अहिलेनै चिन्ता गर्नु पर्ने छैन। सुर्यको किरण निसरणमात्र पिन अहिले विश्वमा भएको दैनिक फोसिल र न्यूक्लिअर ऊर्जाको खपत भन्दा ५० हजार गुना बढी छ। तेसैले नवीकरणीय ऊर्जा अहिलेको एक मात्र समाधान हो। 

परम्परागत ऊर्जाको सीमितता : करिब ४ दशकमा तेल ऊर्जा,  ५ दशकमा ग्यास र १ शताब्दीभित्र कोइलाको स्रोत सकिने छ। साथै आउने ३ -४ दशकिभत्र सम्पूर्ण विश्व प्रदूषणरहित ऊर्जाको स्रोतमा परिवर्तन गरी सक्नुपर्ने हुन्छ। जैविक वृत्तको सीमितताले पनि समस्या विकराल बनाएको छ। र यही नै यस शताब्दीको प्रमुख चुनौती हो। 

यस्तो महत्त्वपूर्ण सबालमा नेपालजस्तो देशले विश्व जनमतका प्रभाव पार्न नसके पनि आफ्नै देशको हितका लागि निम्न कुरामा ध्यान दिनैपर्ने हुन्छ। राज्य, अग्रज नागरिक समाज र विशेषज्ञले भविष्यको स्पष्ट खाका र आधार  दिन सक्नुपर्छ। हालै निकै चर्चामा रहेको थर्मल प्लान्ट नेपालमा उपयुक्त नरहेको धेरै विज्ञले लेखिसकेका छन्। वातावरणीय पक्षलाई बिर्सने हो भने पनि देशको समग्र अर्थतन्त्रमा पर्ने प्रभाव र सजिलै नपाइने ऊर्जा भएकाले थर्मल प्लान्ट उचित नभएको साबित हुन्छ। 

भुगोलअनुसार मात्रामा धेरथोर भए प्राकृतिक स्रोतको नवीकरणीय ऊर्जा सबैतिर उपलब्ध हुन्छ। यसको संरचनामा कुनै लागत लाग्दैन। प्रविधिमा मात्र लगानी भये पुग्छ। सुरुको लगानी केही बढी भए पनि लाभलागत विश्लेषण गर्दा यो सस्तो पर्न आउँछ। यसमा इन्धन खर्च छैन। वातावरणीय प्रभाव, सुरक्षा, ढुवानीसमस्या लगायत केही बहुराष्ट्रिय कम्पनीको एकाधिकारबाट आइपर्ने समस्या पनि हुनेछैन। छेत्रीय ऊर्जा नीतिनियम बनाएर प्रत्येक क्षेत्रमा सानतिनादेखि ठूला कम्पनी सबैले उत्पादन र वितरण गर्न सक्ने हुँदा बजार पनि एकाधिकारबाट मुक्त हुन्छ। फोसिल ऊर्जाले समष्टि अर्थतन्त्रमा ल्याउने समस्याविपरीत नवीकरणीय ऊर्जाले व्यष्टि अर्थतन्त्र दिने लाभ लिन सके नेपाल जस्तो ग्रामीण अर्थ व्यवस्था भएको मुलुकको हितमा हुनेछ।

विगत सरकारका अदूरदर्शिता र भ्रष्टाचारले गर्दा आएको अहिलेको विद्युत् समस्याको समाधान खोज्न गलत बाटो नअनाइयोस्। 

(लेखक नवीकरणीय ऊर्जा अध्ययन अनुसन्धानमा संलग्न छन्)

No comments: