Sunday, July 05, 2009

के केयूका स्थानिय जनताको माग जायज छ?

काठमाडौँ विश्वविध्यालयमा जे भइरहेको छ, त्यसले एउटै कुरालाई मात्र प्रमाणित गर्दछ-त्यो हो, "ढाँटेको कुरा काटे पनि मिल्दैन।" २२ वर्ष अगाडि देखि ढाँट, छल-कपट, बलमिच्याँई गर्दै आएका सुरेश राज, सीताराम, भद्रमान मन्डली अहिले आएर स्थानिय जनताको तीव्र आक्रोशको शिकार बन्दैछ। यो आक्रोश अब घटनु भन्दा झन बढने निश्चित छ। किनभने विगत ३ वर्षदेखिका घटनाक्रमले सत्ताधारीहरुले जे सुकै सोचुन, विद्वत वर्ग, प्राध्यापक वर्ग, विद्यार्थी वर्ग, कर्मचारी वर्गका साथ-साथै स्थानीय जनताको काविका भ्रष्ट, नातावादी, साम्प्रदायिक प्रशासनको नाङ्गो तस्वीर अगाडी आइसकेको छ। निमुखा दलित कर्माचारीलाई मर्न बाध्य गर्ने साम्प्रदायिक, जातिवादी सुरेश राजले स्थानिय जनतालाई घर-खेतबारी छोडन विवश गरेको कुरा वास्तविकता हो। काठमाडौँ विश्वविध्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीहरुलाई जसरी नै झुठो आश्वासनका पोका सुरेश राजले विश्वविध्यालयको शुरुआत गर्दा निर्धक्क बाँडेका थिए। 

"विश्वविध्यालय यहाँ आयो भने होटल व्यवसाय गर्न पाइन्छ, कोठा भाडा दिन पाइन्छ, तपाँईहरुले जागीर पनि पाउनुहुनेछ, तपाँईका छोरा-छोरीहरुलाई प्राथमिकताका साथ इन्जिनियरीङ्ग-मेडिकलमा भर्ना दिईन्छ।" यस्ता अनेकौँ आश्वासनका पोका बुडोलबासीहरुले पाएका थिए। आश्वासन दिने लर्कोमा सुरेश राज भन्दा सीताराम केही कम थिएन। बोल्नै नजान्ने भनेर जहिले पनि सीताराम पुत्र बृजेश अधिकारीबाट आलोचित भद्रमान तुलाधरले पनि त्यसवेला जमेर आश्वासन दिएका थिए। तर, त्यो आश्वासन फगत आश्वासन मात्र थियो। अन्यले यी कुराहरु पहिले बुझे, अब बुडोलबासीहरु बुझ्दै छन। 

बुडोलबासीहरुलाई वास्तवमा सुरेश राजहरुले जहिले पनि प्रयोग मात्र गरेका थिए। बुडोलबासीका जग्गामा आफ्नो पारिवारीक साम्राज्य खडा गर्ने सुरेश राजले विगतका पहिलो १९ वर्ष यहाँका बासिन्दाहरुलाई न कुनै जागिर दिए, न तिनका छोराछोरीलाई पढने बाटोको जोहो गरे। "काम गर्ने कालु, मकै खाने भालु" गर्न चम्केका सुरेश राजले बरु बुडोलबासीका ठाउँमा धुलिखेलका मन्डलेहरु र तीनका शाखा-सन्तानको कल्याण गरे। आफ्नो राजनैतिक सहधर्मी बेलप्रसादका नातेदारहरुलाई यिनले सित्तैमा पढाए र होटल व्यवसायको चाँजो-पाँजो पनि बेलप्रसाद र रामकन्ठकै नातेदारहरुलाई दिए। तर, जब काठमाडौँ विश्वविध्यालयका प्राध्यापकहरुले ३ वर्षअगाडी आन्दोलनको बिगुल फुके, तब भने धुलिखेलका मन्डलेहरुले गरेका आक्रमणलाई बुडोलबासीहरुका प्रतिकृयाका रुपमा सुरेश राज फुक्दै हिँडे। 

विश्वविध्यालय भित्रको कुनै मुद्दामा कुनै स्थानिय व्यक्तिले बोल्नु पर्ने जरुरतै छैन। केही सोच्न सक्षम जो कोहीले यो कुरा बुझ्दछ। तर, विश्वविध्यालयका आन्दोलनलाई तुहाउन ज्यान लिन तम्सेका सुरेश राजलाई यस्तो कुराको केही मतलब थिएन। अनि, आफूलाई चोखो देखाउन बुडोलबासीहरुलाई नै गुन्डागर्दीमा उत्रने जमातका रुपमा उनले चित्रण गरे। जग्गा बुडोलबासीको , नातावादी-भ्रष्टाचारी साम्राज्य भने आफ्नो तर विश्वविध्यालय जोगाउन प्राध्यापक-विद्यार्थीको आन्दोलनको विरोध गर्न कम्मर कस्ने पनि बुडोलबासी? 

हुनै नसक्ने कुरा थियो-त्यो। त्यो अहिले प्रमाणित हुँदैछ-बुडोलबासीका आन्दोलन मार्फत। 

बुडोलबासीको वर्तमान आन्दोलन काठमाडौँ विश्वविद्यालयमा चल्दै आएको आन्दोलनको नयाँ शृँखला मात्र हो। सुरेश राजको शोषण र दोहनका विरुद्धमा अब बाँकी बचेकाहरुले पनि आवाज उठाउन थालेको प्रमाण हो। धुलिखेलका मुट्ठीभर मन्डलेका भरमा आफू नमरुन्जेल उप-कूलपति हुने सुरेश राजको वास्तविक चाहना खाली आफू र वरिपरिकाहरुका विकास गर्नु मात्र हो। त्यसैले हो, काविबाट सित्तैमा वा छात्रवृतिमा दीक्षित समूहमा हामी सुरेश राज, सीताराम र भद्रमानका सेरोफेरोका मान्छेहरु बढी देख्दछौँ। अब, कर्मचारी भर्नाको त झन के कुरा गर्ने? केयूको कर्मचारी हुनका लागी उपयुक्त एउटै मात्र योग्यता छ, त्यो हो सुरेश राज, सीताराम, भद्रमान, रामकन्ठ, बेलप्रसाद आदिहरुका नातेदार हुनु पर्ने। निश्चित छ, बुडोलबासीहरुमा यो योग्यता छैन। 

बुडोलबासीहरुको आन्दोलन वास्तवमा निक्कै जायज र सर्हानीय छ। बुडोलबासीहरुका आन्दोलनमा उठेका कुराहरु काविका प्राध्यापकहरुले तीनवर्ष अगाडि देखी उठेका कुराहरु हुन। काविमा बुडोलबासीहरुले निर्धक्क शिक्षा र जागीर त्यसवेला पाउँदछ, जब सुरेश राज-सीताराम-भद्रमानहरुका नातावादी-भ्रष्ट सँयन्त्रको यहाँ अन्त्य हुँदछ। यसका लागी बुडोलबासीहरुले अब आफ्नो आन्दोलनलाई समर्थन दिनका लागी कुपासँग वार्ता गर्नु पर्दछ र आन्दोलनलाई तीनतिरबाट बढाउँदै सुरेशराजहरुलाई उनीहरुका कू-कर्मको सजाय दिनुपर्दछ। वर्तमान आन्दोलनमा बुडोलबासीका तर्फबाट केही उत्तेजित आवाजहरु पनि सुनिन आएका छन। विश्वविद्यालय ध्वस्त गर्ने काम सुरेश राजहरुबाट हुँदै आएको छ, त्यसैले हाम्रो काम विश्वविद्यालय बनाउने हो भन्ने हामीले बुझ्नु पर्दछ। त्यसका लागी कुपा, कुसा र विद्यार्थी सँगठनसँग हातेमाले गर्दै बुडोलबासीहरुले सुरेशराजलाई परास्त गर्नु पर्दछ। आफ्नो हक-अधिकार प्राप्तीका लागी सुरेश राजले जस्तै मर्न बाध्य गर्ने, पढन पाउने अधिकारबाट वन्चित गर्ने काम हामी कसैले गर्नु हुँदैन। 

No comments: