Sunday, July 05, 2009

केयूअगाडि प्रदर्शन

स्थानीय बासिन्दाले २२ वर्षअघि अगाडि सारिएका माग विश्वविद्यालयले पूरा नगरेको आरोप लगाएका छन् । माग पूरा नगरिए आइतबारदेखि विश्वविद्यालयमा नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।

स्थानीय बासिन्दाले स्थानीय विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, स्थानीय सडक फराकिलो पार्नुपर्ने र खानेपानीको समस्या समाधान गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् । बखुन्डोल सामाजिक तथा शैक्षिक सरोकार समाजका अध्यक्ष युद्धबहादुर थापाका अनुसार स्थानीयले ०४४ सालदेखि आन्दोलन थालेका हुन् । तर, माग पूरा गर्न विश्वविद्यालय प्रशासनले चासो नदिएकाले कडा आन्दोलनमा उत्रेको उनले बताए ।

स्थानीयले माग पूरा नभए विश्वविद्यालय नै बन्द गर्नेसम्मको चेतावनी दिएका छन् । 'हाम्रा माग पूरा नभए विश्वविद्यालयलाई तहस-नहस पार्छौंं,' अध्यक्ष थापाले भने, 'नयाँ भर्ना हुन आउने विद्यार्थीलाई समेत फर्काइदिन्छौं ।' उनका अनुसार आइतबारदेखि स्थानीय बासिन्दाले अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालयसम्म कुनै पनि सवारीसाधन चल्न नदिने र विश्वविद्यालयमा खाद्यान्न तथा तरकारीसमेत आपूर्तिमा अवरोध गर्दै छन् ।

यसअघि स्थानीय बासिन्दाले ७ असारमा विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, विश्वविद्यालयले माग पूरा गर्न नसक्ने जनाएपछि उनीहरू आन्दोलित भएका हुन् ।

विश्वविद्यालय स्थापनाअघि नै स्थानीय बासिन्दालाई शिक्षा र रोजगारीमा प्राथमिकता दिने सहमति भएको स्थानीय रामकृष्ण कर्माचार्यले बताए । उनले भने, 'यहाँका ८६ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई नपढाई ६६ प्रतिशत आउने बाहिरका विद्यार्थीलाई प्राथमिकता दिइन्छ ।' रोजगारीमा पनि स्थानीयलाई भन्दा बढी बाहिरकालाई नै प्राथमिकता दिइएको उनले दाबी गरे ।

स्थानीय बासिन्दाले विश्वविद्यालयमा सञ्चालित कक्षामध्ये स्नातक, स्नातकोत्तर र नर्सिङमा दुई/दुई सिट र एमबिबिएस तथा जियोमेटि्रक इन्जिनियरिङमा एक/एक सिटको छात्रवृत्ति मागेका छन् । विश्वविद्यालय स्थापना भएपछि धुलिखेल नगरपालिकालाई पाँच र बखुन्डोलका बासिन्दालाई दुई सिटको आरक्षण व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म आरक्षण नदिइएको स्थानीयको भनाइ छ । धुलिखेल नगरपालिकालाई दिइएको कोटा भने नगरपालिकाले अनुदान नदिएको भन्दै केही वर्षदेखि रोकिएको छ ।

स्थानीय बासिन्दाको आन्दोलनका कारण विश्वविद्यालयमा जारी केही संकायको परीक्षा प्रभावित भएको छ । केही संकायको भने यही सातादेखि सञ्चालन हुँदै छ ।


No comments: