Tuesday, June 09, 2009

जो अगुवा, उही बाटो ....



कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा "आदर्श अगुवा" शिर्षकमा धुलिखेल अस्पतालका डा. रामकन्ठ श्रेष्ठका सँबन्धमा पढन पाइयो। डा. रामकन्ठ श्रेष्ठका समाजसेवी पाटोलाई मित्र आनन्द राईले प्रस्तुत गर्नु भएको रहेछ। डा. रामकन्ठ श्रेष्ठका लोककल्याणकारी समर्पण वास्तवमै प्रशँसनीय छ। धुलिखेल अस्पतालको उथानमा उहाँको योगदान, खटाई र व्यवस्थापन धेरै नै रहेको छ। हामीले राम्रा कामका प्रशँसा मुक्त कन्ठले जहिले पनि गरेका छौँ। सुरेश राज शर्माका राम्रा कामहरु जति प्रशँसा गरे पुग्दैन त्यति नै प्रशँसा डा. रामकन्ठ श्रेष्ठका पनि गरिनु पर्दछ।

तर, हाम्रो नेपाली परिवेशमा खडकिने कुरा के छ भने-त्यो हो नायक जहिले पनि नायक नै रहने र नायक हुन नसक्नेहरु खलनायक नै बन्नु पर्ने। काठमाडौँ विश्वविध्यालयमा सुरेश राजका हातमा हात मिलाउँदै आफ्ना लगानी दिएकाहरु अहिले ओझेलमा छन । सुरेश राजले जस्तै नखाईकनै यिनीहरु खटेका थिए र सँस्थापनमा लागेका थिए। तर, यिनीहरुका लगानी अहिले बालुवामा पानी जस्तै हुन पुगेको छ। कारण के हो भने यिनीहरु सुरेश राजजस्तै नायक बन्न सकेनन र समाजले नायक बन्न नसक्ने लाक्षीहरु तिमीहरु खलनायक हौ भनिदिए।

बल्ने आगो ताप्ने यो समाजमा सत्ताधारीहरु र पदाधिकारीहरु जहिले पनि सही हुन्छन। गलत हुन्छन त ती व्यक्तिहरु जो व्यक्तिको सर्वोच्चता भन्दा नियमको सर्वोच्चतालाई मान्छन। काठमाडौँ विश्वविध्यालयमा सुरेश राजका शुरुआती दलका सदस्यहरुका विचारमा सुरेश राज अपरिहार्य छैनन। तत्कालीन टिम नेपालमा राम्रो सँस्थापन र नियममा रहेका विश्वविध्यालय बनाउन चाहन्थे। उनीहरुका प्राथमिकतामा भाईलाई प्रशासक बनाउने, छोरीलाई प्रबन्धक बनाउने, भतिजाहरुलाई प्राध्यापक बनाउने काम कहिले पनि परेका थिएनन। सुरेश राज र सीतारामले चाहे जसरी उनीहरु पनि छोरा-छोरी-ज्वाँई-भान्जा-भान्जीलाई घुसाउन सक्थे। भद्रमानले जसरी बोल्नै नजान्ने छोरोलाई प्राध्यापक बनाउन सक्ने अवस्थामा थिए। तर, गरेनन। किनभने उनीहरु यस्ता कार्यले विश्वविध्यालयमा विकृती आउँछ, नियममा चल्ने सँस्था बन्दैन र व्यक्तिवादी सँस्था बन्छ भन्ने विचारका थिए। हो, यही विचारले हो उनीहरुले आफुलाई अपरिहार्य ठानेनन र सुरेश राजजस्ता षडयन्त्रकारीसँग झै-झगडा गरिरहनु भन्दा शान्तिमार्गमा लाग्नु श्रेयष्कर थाने।

कोही भन्छन यो पलायनवादीता हो। मुख्यत: सीताराम सुपुत्र वृजेश, सुरेश राज भान्जा मनिष र हिटमेन भोलाको विचारमा केयुवाट सुरेश राज विरोधीहरु हटनु भनेको सुरेश राजको पूर्ण विजय हो रे। अर्को शब्दमा, अहिले भर्खर मात्र सुरेश राजले काविको सत्ता कब्जा गर्न सक्यो रे। अनेकौँ छ तिनीहरुका दुष्प्रचारहरु र कथाहरु। तर, एउटा कुरा चाँही के भने नियमभन्दा नेतृत्व ठुलो हो भन्ने उहाँहरु जब नेतृत्वका मरणशील रुपलाई देखाईन्छ, तब भने बोल्नै सक्दैनन। " सुरेश राज सर, बित्नु भए त खै के भन्ने? जस्तो पर्ला, त्यस्तो टर्ला!"

डा. रामकन्ठ पश्चात धुलिखेल अस्पताल के राम्रोसँग चल्छ र? यसको जवाफ वास्तवमै गार्हो छ। किनभने स्टालिनवादी शैलीमा अहिले रामकन्ठ भनेकै धुलिखेल अस्पताल हो र धुलिखेल अस्पताल भनेकै रामकन्ठ हो भन्ने प्रचार व्याप्त छ। रामकन्ठको अस्ट्रियन स्वास्नी अगाडी आउँछिन तर नत्थु शर्मा अगाडी छैन। न छन अरु श्रेष्ठ काजीहरु। त्यसैले, व्यक्तिगत प्रयासलाई अहिले सँस्थागत रुप दिईएको कुरा गरिएको छ र सँस्था भन्दा ठुलो व्यक्ति हो भन्ने देखाउने कोशिस गरिँदैछ। । तर, यो सँस्थागत रुपपनि ४०० जनाको नेतृत्व भने डा. रामकन्ठ नै हो भन्ने हिसाबमा मात्र सिमित छ। वास्तवमा हामीलाई डा. रामकन्ठ नेपालका ७५ जिल्लामा चाहिन्छ। ७५ जिल्लामै हामीलाई रामकन्ठहरु चाहिएका छन। यो समाजमा एक ठाउँमा रामकन्ठ हुन सक्छ भने अर्को ठाउँमा पनि जन्मन सक्छ। समर्पण, लगनशीलता र कर्तव्यनिष्ठताले रामकन्ठहरु जन्मन सक्दछ भने अर्को ठाउँमा किन रामकन्ठ नजन्मने त? अनि त्यही रामकन्ठले अर्को स्थानमा किन धुलिखेल अस्पताल जस्ता सँस्थाहरु किन नजन्माउने त?

छोटो समयमा यति प्रगति गर्न सक्ने र विदेशीहरुलाई पनि सरिक गर्न सक्ने व्यक्ति एकै ठाउँमा सिमित भएर बस्नु कुनै हालतमा ठीक हुँदैन। यदि डा. रामकन्ठ साँच्चिकै निर्माता हुन भने हाम्रो चुनौती छ, जाउ अन्य ठाउँमा पनि गएर र गरेर देखाउ। राजनैतिक र प्राज्ञिक स्वार्थलाई भजाउन नचाहनेहरु कतै जडतापूर्वक बस्दैनन। ठाउँठाउँमा म जान्छु र ठाउँठाँउमा म गर्छु भन्ने चुनौतीलाई स्विकार्छन र गरेर देखाउँछन। होईन, प्रचार मात्र गर्ने र आफुलाई धुलिखेल अस्पतालमै मात्र उहाँ सिमित राख्नु हुन्छ भने हामीले बुझ्नु पर्छ, यी सब कुराहरु खोक्रा प्रचारवाजी मात्र हुन। सहयोगीका परिश्रमका आधारमा नातावाद, कृपावाद र अवसरवाद लादेर आफुलाई अपरिहार्य बनाउने सुरेश राज पथको पछ्याई मात्र हो। अनि, समाजलाई परिवर्तन गर्छु भन्ने अगुवाहरुले बाटैमा..........परिचायक मात्र हो। 

No comments: