डा. कार्कीको भनाई
स्रोत: नयाँ पत्रिका
कथा गिरिजाका डाक्टरको
कोसीको भेललेभन्दा चर्कोसँग जनआन्दोलनको भेलले देशलाई छोपेको थियो । राजा गद्दीसीन रहेकै बेला राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका थिए अस्वस्थ अवस्थाका वयोवृद्ध प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ।
सर्वसाधारण होस् वा राष्ट्रपति, चिकित्सकले गर्ने व्यवहार एउटै हुन्छ । तर, मुलुकको संवेदनशील घडीका कारण कोइरालालाई बचाउनु र उनको स्वास्थ्यस्थिति स्थिर राख्नु चिकित्सकका लागि 'विशेष चुनौती' थियो नै । त्यो जिम्मेवारी सम्हाल्ने डाक्टरहरूको टोली-नेता भए- डा. अर्जुन कार्की ।
निमोनियाका कारण सधैँ अक्सिजन चाहिने कोइरालाको स्वास्थ्य प्रधानमन्त्री बनेपछि झन् नाजुक बन्यो । कोइरालालाई जसरी पनि बचाउने जिम्मेवारी थियो उनको काँधमा । बँचाउन नसकेको भए के हुन्थ्यो ? कार्की भन्छन्, 'जीवनकै ठूलो अफसोच ।' हुन त बिरामी बचाउन नसक्दा चिकित्सकलाई अफसोच हुने गर्छ नै ।
श्वासप्रश्वासको रोगले ग्रसित कोइरालाको मृत्युको अफबाह गत माघमा एकै घन्टामा राजधानी मात्र होइन, विदेशसम्म पनि फैलियो । 'कोइरालाको स्थिति सञ्चारमाध्यममा आएजस्तो थिएन,' कार्कीको कथन थियो, 'प्रधानमन्त्रीलाई श्वासप्रश्वासको व्यथाले च्यापेको अवश्य थियो ।'
सञ्चारमाध्ययमसँंग पनि उनको गुनासो रहेछ, 'पत्रकारहरूले मानवीय पक्ष भुले । उनीहरूले दीर्घायुको कामना गरेनन्, बरू प्रधानमन्त्रीको बायोग्राफी खोज्न र ब्यानर हेडलाइन सेटिङ गर्न लागे ।'
'सञ्चारजगत् मानवीय पक्षबाट च्यूत भएछ, धेरै व्यापारिक नसा लागेछ भन्ने लाग्यो,' उनले भने । तर, कार्कीले भनेजस्तो नभई पत्रकारले त प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बिगि्रयो भन्ने मात्रै समाचार प्रवाह गरेका थिए । हल्ला फैलनुअघि नै चिकित्सकले स्पष्ट पारेको भए त्यो अवस्था आउँदैन थियो कि ? पत्रकारको आलोचनाभन्दा समयमै वास्तविकता बाहिर ल्याउन सकेको भए राम्रो हुने कुरामा कार्की सहमत देखिए । न्हुच्छेमान डंगोल फोटो 'क्लिक, क्लिक्क' पारेर उम्किसकेका थिए । गि्रनविच होटलको स्विमिङ पुलमा खसेका पात हटाउँदै थिए, मालीले ।श्वासप्रश्वाससम्बन्धी रोग सिओपिडी भएको छ, कोइरालालाई । यो रोगले बेलाबेलामा च्याप्छ । त्यतिखेर कोइरालालाई च्यापेको थियो । कोइराला अहिले राष्ट्रप्रमुखको जिम्मेवारीबाट मुक्त छन् । त्यसैले होला, कोइरालाको राजनीतिक सक्रियता बढेको । 'ठूलो जिम्मेवारी र तनाव हट्यो भने पनि मानिस स्वस्थ र फूर्तिलो हुन्छ,' कार्कीको विश्लेषण हो । सिन्धुपाल्चोक पेटुकामा २०११ मंसिरमा सामान्य किसान परिवारमा जन्मिएका थिए कार्की । पहाडी कृषक भनेपछि उसको आर्थिक हैसियतबारे भनिरहनुपरेन । 'मुस्किलले खान पुग्थ्यो,' उनले भने । डाक्टर बन्न पाए हुने भन्ने सोचाइ सानोमा आए पनि पढाइमा त्यति तीक्ष्ण थिएनन् उनी । झन् 'गान्धी डिभिजन'मा एसएलसी पास गरेपछि त उनको डाक्टरको सपना सपनै हुने निश्चित भयो । आइएस्सीमा भर्ना हुन नम्बर पुगेन । उनी पाटन क्याम्पसमा मानविकी संकायमा भर्ना भए । आफ्नो रुचिको विषय नभएकै कारण रेगुलर पढे पनि पासचाहिँ रेगुलर भएनन् । थप दुई वर्ष ब्याक दिएर आइए पास भए । त्यतिखेर एमबिबिएसको पढाइ नेपालमा थिएन ।
२०३४ मा महाराजगन्ज क्याम्पसमा 'चिकित्सा शास्त्र विसारत' तहको भर्ना खुल्यो । उनले आवेदन दिए । नाम पनि निस्कियो । अढाई वर्ष पढेपछि उनी हेल्थ असिस्टिन्ट बने । रुचि र पढ्ने विषयले मेल खाएकाले उत्कृष्ट अंक ल्याएर उनी भए हेल्थ एसिस्टेन्ट । नुवाकोटको 'काउले हेल्थपोस्ट' थियो उनको पहिलो नियुक्ति । तर, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले काउलेमा भर्खरै अर्को हेल्थ असिस्टेन्ट गएको भनेर उनलाई खरानीटार हेल्थपोस्टमा खटायो । त्यतिखेर धुलो उडाउँदै गाडी कुद्दैन थिए, खरानीटार-त्रिशुली । ११ नम्बर गुडाएरै पुगे । एक महिना बसेपछि उनको सरुवा भयो, दोलखा । एक वर्ष बसे । डाक्टर बन्न नसकेको असन्तुष्टिले मनमा मसाल जुलुस गरिरहेको थियो । २०३५ मा महाराजगन्ज क्याम्पसमा एमबिबिएसको पढाइ सुरु भयो । १९३६ को ब्याचमा उनी छानिए । तर, जनमत-संग्रहको घोषणाले पढाइभन्दा राजनीतिक माहौलले छोपिसेको थियो । त्यसैले उनी लागे गाउँतिर- बहुदलको पक्षमा जनता जगाउन । उनी वामधारका थिए । गाउँ-गाउँमा आमसभाको आयोजना गर्नु, सहरबाट नेता लगेर भाषण गराउनु उनका दिनचर्या बने । तत्कालीन मालेका सिद्धिलाल सिहं, विश्वकान्त मैनाली र शम्भु थापाजस्ता नेतालाई गाउँमा बोलाएर भाषण गराए । 'त्यतिबेला शम्भु थापाको हैसियत अहिलेको जस्तो थिएन,' उनले भने, 'वकिल भएकाले पनि राम्रो बोल्न सक्ने भएर उनलाई पनि डाकिएको थियो ।'कार्कीले पनि भाषण ठोके कि ? 'भाषण त होइन, उद्घोषणचाहिँ गर्थेँ,' उनले भने ।
६ वर्षसम्म घुँडा घोटेर पढे उनले । एमबिबिएस उत्तीर्ण गरे । डा. बने । तर, हेल्थ असिस्टेन्टबाट आएको हुनाले विशेषज्ञ हुन सक्दैन भन्ने भ्रम थियो, 'डाक्टरीजगत्मा' । त्यति बेलासम्मका नेपालका सबै डाक्टर पूर्वी युरोपका हंगेरी, चेकोस्लोभाकिया पोलयान्ड, सर्भिया, सोभियत संघ र अमेरिकामा पढेका मात्र थिए । नेपालमा पढेर पनि डाक्टर होइन्छ र ? भन्ने मानसिकता व्याप्त थियो । डाक्टर मात्र होइन, आफैंलाई पढाउनेले पनि नाक खुम्च्याउँथे । 'सबैले खियाउँदा साँच्चै सेकेन्ड क्लास डाक्टर भइएछ कि भन्ने चिन्ता पनि थियो । नेपालमा पढेर तिमीहरू विशेषज्ञ हुनै सक्दैनौ भन्नेहरू थिए । अझ हेल्थ असिस्टेन्टबाट आएकालाई त कसले गन्ने र ? धेरै डाक्टरहरू नेपालको चिकित्सा अध्ययनलाई नै वाहियात मान्थे,' कार्कीले भने । एमबिबिएस उत्तीर्ण भएको कुरा साथीहरूले सुनाए । तर, आफंैलाई विश्वास भएन । गान्धी डिभिजनमा पास भएको मान्छे डाक्टर भएँ भनेर कसरी विश्वास गर्ने ? एमबिबिएस पास गरेको खुसीलाई 'विशेषज्ञ हुन सक्दिनँ कि भन्ने चिन्ताले छोपिदियो' भन्छन् उनी ।
सन् १९८५ बाट शिक्षण अस्पतालमै डाक्टरको जागिर पनि पाए । दुई वर्षपछि त्यहीँ पढाउने काम पनि पाए । सन् १९९० सम्म लगातार तीन वर्ष सामुदायिक चिकित्सा पढाए । सन् १९९१मा 'स्विडेन'को 'लुन्ड युनिभर्सिटी'मा चिकित्सा विज्ञानको अनुसन्धान गर्न गए । एक वर्ष अध्ययन गरेर फर्के । खर्च जुटाएर सन् १९९३ मा अमेरिका गए, विशेषज्ञता अध्ययनका लागि । 'स्टेट युनिभर्सिटी अफ न्युयोर्क'बाट सन् १९९६ मा उनले 'इन्टर्नल मेडिसिन'मा विशेषज्ञता हासिल गरे । विशेषज्ञता हासिल गरे पनि उनलाई चिकित्साशास्त्र अध्ययनको भोक मरेन । उनले थप दुई वर्ष 'फोक्सो'सम्बन्धी अध्ययन र 'इनटेन्सिभ केयर युनिट'को अध्ययन गरे । 'ज्ञान आर्जन गर्न विदेश आउनुपरेको छ भने अपुरो ज्ञान लिएर किन र्फकने ? भन्ने सोचेर थप दुईवटा डिग्री लिएँ,' उनले भने । तेस्रो विश्वका देश विकसित देशका लागि दक्ष जनशक्ति उत्पादनको स्रोत बनेका छन् । विदेशमा अध्ययन गरेर उतै बस्न चाहने र विदेश कसरी जान पाइन्छ भनेर धाउने प्रशस्त छन् । तर, उनी पढाइ पूरा गरेको एक हप्तामै नेपाल फर्किए । नेपालबाट दक्ष, युवा जनशक्ति पलायन हुनेक्रम बढ्दो छ । तर, तीन-तीनओटा विषयमा डिग्री लिएर पनि नेपाल नै फर्कंने मन कसरी लाग्यो त ? भन्छन्, 'खोलो तरेपछि लठ्ठी भुल्न हुन्न ।' अध्ययनका क्रममा प्रसूति बेथा लागेको महिलाको शरीर निरीक्षण गर्छन् चिकित्सा शास्त्रका विद्यार्थीले । ती महिलाले सहेका लज्जाबोध, पहिलोपटक आफ्नो शरीरमा ब्लेड चलाउँदै छ भन्नेसमेत थाहा नपाई अप्रेसन गर्न तयार भएको बिरामीको भाडा तिर्न स्वदेश फर्किएको उनको भनाइ छ ।
इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई घरीघरी घोच्न नपरोस् भनेर सुरुमै हातमा सियो पठाएको हुन्छ । सियो पठाउँदा बिरामीले ऐया गर्दा आममान्छेलाई घोचेकाले दुखेको भन्ने हुन्छ, तर कहाँ मिस्टेक भयो ? घोच्ने डाक्टरलाई मात्र थाहा हुन्छ । डाक्टर हुनलाई कसैले त दुखाइ सहन तयार हुनुपर्छ अनि मात्र डाक्टर जन्मछन् । त्यसैले उनीहरू बिरामीको पनि ऋणी हुन्छन्- यो हो डा. कार्कीको विश्लेषण । त्यसैले विदेशमा बस्दा कहिल्यै चैन अनुभव नगरेको बताउँदै उनले स्वदेशमै केही गर्ने संकल्प बोकेर फर्केको उनले तर्क गरे ।सन् १९९९ मा उनी तीनवटा डिग्रीको गुन्टा कसेर स्वदेश फर्के । तर, काम पाएनन् । शिक्षण अस्पतालमै पुनः काम गर्ने कोसिस गरे । तर, फेरि प्रवेश गर्ने वातावरण उनलाई दिइएन । त्यहाँका 'मै हुँ' भन्नेले यो आएपछि हाम्रो भाग खोसिएला भनेर पूर्वाग्रह राखेको उनको गुनासो छ । 'शिक्षण अस्पतालभित्रको खेलाडीहरूले अपमानजनक व्यवहार गरे,' उनले भने । लामो समय विदेशमा बसेर र्फकंदा नेपालमा पनि योग्यताको कदर होला भन्ने सोचेका थिए । तर, व्यवस्था फेरिए पनि योग्यताले काम नगर्ने नेपाली प्रवृत्ति जिउँकात्युँ पाएपछि उनलाई खिन्न लाग्यो । तर, निराश भएनन् । बेरोजगार पनि बस्न परेन । बी एन्ड बी अस्पतालमा आइसियु स्थापनाको तयारी हुँदै थियो । त्यहाँका निर्देशक डा. अशोक बाँस्कोटाले आसियु स्थापना गर्न सघाउन अनुरोध गरे ।
काठमाडौं मेडिकल कलेज कुम्स प्रोजेक्ट स्थापनाको संयोजक बने । विवेकशील र सामाजिक दायित्वबोध गर्ने डाक्टर उत्पादन गर्ने उनको धोको थियो । 'हामी त डाक्टर, बिरामीसँग कुरा गर्ने हो र ? हामी त डाक्टर, नेपालमा बस्ने हो र ? भन्ने मानसिकताले काम गरेको छ,' उनी भन्छन् । तर, एमबिबिएसको बिल्ला भिराउन तल्लीन विश्वविद्यालयका पदाधिकारीहरूसँग उनको विचार मिलेन । 'वैचारिक संघर्ष तीव्र भयो । उनीहरूले पहिला गरेको वचन तोडेर नाफामूलक बन्न लागे । त्यसपछि त्यहाँ बस्नुको औचित्य देखेनन् ।
डा. कार्की हाल पाटन अस्पतालमा कार्यरत छन् भने गिरिजाप्रसादका निजी चिकित्सक पनि । उनकै सक्रियतामा पाटन अस्पताल अहिले 'पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान' बनेको छ । मुगुका विद्यार्थीलाई चिकित्सक बनाएर गाउँ पठाउने उनको योजना छ । भन्छन्, 'मुगुमा हुर्किएको र त्यहाँको जुकालाई टोकेको मान्छे नै त्यहाँ गएर बस्न सक्छ । काठमाडौंको मान्छे जुका देख्नेबित्तिकै तीन हात उफ्रिन्छ भने ऊ कसरी त्यहाँ जान्छ ?' उनको प्रश्न छ ।
अर्जुन पौडेल
arjunpoudel1@gmail.com
No comments:
Post a Comment